लघुकथा: परिचय

लघुकथा: परिचय

स्रष्टा: आरआर चौलागाईं

एकपटक अमेरिकाको न्युयोर्कमा संसारका सबै देशका नागरिकको जमघट भयो । त्यो भेलामा नेपालबाट पनि २० जनाको टोली गयो । उक्त कार्यक्रमको आयोजना संयुक्त राष्ट्रसंघले गरेको थियो । अनि विषय थियो— ‘संसारबाट गरिबी कसरी हटाउने ?’ भेलाको थालनी परिचयात्मक कार्यक्रमबाट सुरु भयो ।
भारतका नागरिकहरूले आफूलाई ‘भारतीय’ भने । चीनका बासिन्दाहरूले आफूलाई ‘चिनियाँ’ भने । अमेरिकाबाट आएले ‘अमेरिकी’ भने । फ्रान्सका प्रतिनिधिहरूले ‘फ्रान्सेली’ भने । जर्मनीबाट सहभागी हुनेले ‘जर्मन’ भने । अस्ट्रेलियाबाट पुगेहरूले ‘अस्ट्रेलियन’ र पाकिस्तानबाट जानेहरूले ‘पाकिस्तानी’ भने । यसैगरी पालैपालो सबैले आ–आफ्नो परिचय दिए ।
अब नेपालको पालो आयो । उनीहरूले पनि अरूले जस्तै आफ्नो देशको नक्सा र झन्डामुनि उभिएर यस्तो परिचय दिए—
‘म नेवार’, ‘म तामाङ’, ‘म बाहुन’, ‘म क्षेत्री’, ‘म मगर’, ‘म गुरुङ’, ‘म थारू’, ‘म मधेसी’, ‘म सार्की’, ‘म कामी’, ‘म दमाईं’, ‘म चेपाङ’, ‘म राउटे’, ‘म शेर्पा’, ‘म राई’, ‘म दनुवार’, ‘म थकाली’, ‘म कुसुन्डा’
परिचयात्मक कार्यक्रम सकिएपछि मुख्य कार्यक्रम सुरु हुने बेला नेपालबाट जानेहरू सबैलाई नेपाल फिर्ता पठाइयो । पछि बुझ्दा पत्ता लाग्यो— नेपालबाट जानेहरूमा एक जना पनि नेपाली नभएको हुँदा त्यसरी फिर्ता पठाइएको रहेछ ।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


Free track counters
पटक यो ब्लग हेरियो।

No comments: