कविता: यात्री
स्रष्टा: महाकवि लक्ष्मीप्रसाद देवकोटा
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छानोछ, इन्द्रियहरुका द्वार!
नसा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा खोजिहिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा, ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन, चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको, छहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।
नोट: यस रचनाको सर्वाधिकार लेखक र प्रकाशकमा सुरक्षित छ।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
पटक यो ब्लग हेरियो।
No comments:
Post a Comment