विचार र दर्शनको सन्दर्भमा विभिन्न छलफल हुने गरेको छ । ती मान्छेहरू धार्मिक, आध्यात्मिक प्रवृत्तिका हुन्छन् । उनीहरूको जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोण अलग हुन्छ । कहिलेकाहीं आफ्नो जीवनबाट विरक्त लाग्दा मैले ती मान्छेहरूलाई सम्झिने गरेको छु । उनीहरूका जीवन दर्शनलाई नजिकबाट हेर्ने गरेको छु। अनि आफ्नो जीवनलाई सहज बनाउने गरेको छु । यहाँ व्यस्तताका भागदौडमा सधैं कुदिरहने मान्छेहरूलाई अलिकति शान्ति प्राप्त गर्न पनि अहिले समय छैन । जिन्दगी एकदमै व्यस्त र निराश छ । उनीहरू अलि उशृङखल विचारका हुने गरेका छन् । मान्छेको भावना, विचार, संवेदनशीलता यो समयको व्यस्तताले खाँदैछ । मान्छे मिसिनजस्तो बन्दैछ । यस्ता मान्छेहरूले कहिलेकाहीं निराशा, कुण्ठा पोख्ने गर्छन् । उनीहरू भन्छन्- 'जीवन बाँचेर के गर्ने मर्न पाए हुन्थ्यो ।' जिन्दगीबाट यति सारो निराश किन ? पंक्तिकारको मुखबाट अनायास व्यंग्यको रूपमा निस्किन्छ- त्यसो भए मर आनन्द । तर मृत्युदेखि डराउँछन् । मान्छेलाई मर्न पनि डर लाग्छ, बाँच्न पनि विरक्त लाग्छ । अहिले जीवनदेखि नहार्ने मान्छेहरू म खोजिरहेछु । किनभने ती पात्रहरूलाई हेरेर सार्थक जीवन बाँचुन् । त्यसैको लागि साहित्यकार जगदीश घिमिरेको सामिप्यमा रहेँ म । जोसँग सामिप्यता राखेर मैले जीवनको महत्त्व राम्ररी बुझेँ । बाँच्नुको अर्थसँग राम्ररी परिचित भएँ । कहिलेकाहीं जीवनसँग निराश बनेको बेला जीवनको बारेमा विभिन्न एसएमएस वार्ताहरू गर्थे मसँग । मलाई उत्साहित पार्थे । उनी जीवनसँग निराश भएको बेलामा म उत्साहित पारिदिन्थेँ । त्यसरी हामी दुवैका जीवनका पाटाहरूमा एक किसिमको सामिप्यता रहेको थियो । म जगदीश दाइको जीवनको सकारात्मक चिन्तनसँग निकै नजिक थिएँ । उनी पनि मेरो जीवनको दृष्टिकोणसँग नजिक थिए । भौतिक रूपमा हामी त्यति नजिक थिएनौं । विचार, भावनासँग निकै हदसम्म नजिक थियौं । कहिलेकाहीं म जिस्किएर भन्ने गर्थें- दादा जातिवाद नजन्माऔं है । उनले मसँग जिस्केर भन्थे- म त जन्माउँछु भनेको । त्यसरी चल्थ्यो, हामीबीच आत्मीय वार्तालाप । जीवनको विषयमा होस् वा अन्य विषयमा, बेला-बेला छलफल हुन्थ्यो । पछिल्लो समय निकै लामो समयसम्म सम्पर्क हुनै सकेन । जीवनको भोगदौडमा नाफा र नोक्सानको हिसाबमा चलिरह्यो जीवनचक्र, आफ्नै गति, आफ्नै तालमा जीवन चलाउन व्यक्त रहेँ म । अर्थात् जगदीश दाइसँग सामिप्यता रहन सकेन । यता आफैं रोगसँग संघर्षरत थिएँ । डाक्टरहरूको आदेश थियो- धेरै निहुरेर काम नगर । त्यो आदेशलाई मैले मान्नु आवश्यक थियो । त्यस्तै किशोरकुमार जो स्वच्छ मन भएका मान्छे हुन्, ती दाइ बेलायतदेखि मलाई भेट्न भनेर घरमै आइपुगे । उनीबाट जगदीश दाइको स्वास्थ्य गम्भीर भएर अस्पताल भर्ना गरेको र अवस्था गम्भीर भन्ने समाचार सुनेँ । किशोर दाइलाई केही क्रिया-प्रतिक्रिया नदिई मनमनै कामना गरेँ- जे हुनु छ, मंगलै होस् । जगदीश दाइकै जित होस् । तर यसपालि जगदीश दाइको जित भौतिक रूपमा भएन । उनी कहिल्यै नफर्किने लोकको यात्रामा गए । तर उनी मृत्युसँग नडराउने मान्छे थिए । लोकका लागि केही गरेर जाने मान्छे थिए । जनहितका लागि काम गर्दागर्दै आफ्नो जीवन विसर्जन गर्ने मान्छे थिए । वर्तमान समयमा उनै जगदीश दाइलाई सम्झिदै मृत्युलाई सहज रूपमा लिएर जाने मान्छेको सामिप्यता खोजिरहेछु । जो जीवनलाई सारपूर्णसँग बाँचेर मृत्युलाई सहजसँग वरण गरोस् । अहिले जीवनलाई अनावश्यक खेर फालेर मृत्युसँग डराउने मान्छेलाई प्रश्न छ- तिमीले जीवन खालि माटोमै विलिन हुनमात्र पाएको हो ? मृत्युमात्र वरण गर्न पाएको हो? |
No comments:
Post a Comment