कविता: भुँइचालो
स्रष्टा: क्षेत्र 'प्रेम' मुखिया
फेरि आज उसको छातीभित्र
केही उद्वेलित भयो,
बौराई उठ्यो उनि
वर्षौंको निस्तब्धता तोड़ेर |
तिम्रो आयामको के दुख्न गयो?
शायद मानवको असिमित आकांक्षाको
तृप्ति हेतु खोतालिएको तिम्रो छाती,
आफ्नो महल ठडाउँन नाश गरेको
ती सृष्टिका हरिया वातावरण,
स्रष्टाले सृजेका जीव-जन्तुको त्रास,
अझ समुद्रभित्र पनि
निज मंथन गर्ने प्रवृतिले
असर पार्यो तिमिलाई !
हो ! असर पार्यो तिमिलाई !
आफै भित्र पहाड़ पर्वत, वन जंगल,
महासागर समाहित गर्ने
हरेक कुरो अविचलित भई
सहेर वहन गर्ने,
अवश्य आहत भयो तिमीलाई
निश्चित आहत भयो तिमी !
गर्भभित्र समाहित असह्य पीड़ालाई
सुम्सम्याउँदा आराम न हुँदा
शायद हिक्का फुटाउन
प्रश्वास फेर्यो तिमीले,
मर्म सेक्न सानो कोल्टे फेर्यो तिमीले,
अनि भयो हलचल यहाँ केही क्षण
हो ! केवल केही क्षण !
तर यो केही क्षणमा भएको विनाश
रामायणको युद्ध भन्दा कम थिएन,
महाभारतको संग्राम भन्दा सानो थिएन,
विश्वयुद्धको महासंहार भन्दा थोरै थिएन |
तिमीले आफ्नो निस्तब्धता तोड्यो
तर यहाँ मानव निशब्द भएका छ,
केवल क्रन्दन/विलापको स्वर गुञ्जयमान छन् |
दिवास्वप्न जस्तै भएको छ सबै
अघि सम्म अस्तित्वमा रहेका कुरो
अहिले अस्तितवविहिन भएको छ,
अघि सम्म आफ्नो उपस्थिति देखाउने
अहिले केवल अवशेष मात्र रहेको छ,
शताब्दी सम्म ठड़िएको नौ-तले धरहरा
क्षणमै धररररर.......गरि ढहेको छ,
यत्र-तत्र केवल त्रासदीको माहौल छ,
जीर्ण-शीर्ण स्वरूप लिएर |
हो ! हामीबाट भुल भएको छ तर
मानवको दुखमा हामी
मानवता भुल्न सक्दैनौ,
छरिएको लाश माथि उभिएर
हामी हाँस्न सक्दैनौ |
सयौं मानिसको प्राण लिएका छौ,
तिम्रो आतंक वहन गर्ने, वरण गर्ने
सामर्थ्य छैन हामीमा,
पिड़ित छौ हामी, विक्षिप्त छौ हामी
तिम्रो अघोषित/असंतुष्ट उथुल पुथुलको
कोप भाजन भएका छौं हामी |
तिम्रो त्यो शरीरको घाव/चर्किएको जमीन
छिट्टै भर्न सक्छ तर,
हाम्रो मानसपटलमा छापिएको
तिम्रो विनाश र आतंकको घाव भर्न
शायद सयौं वर्ष लाग्ने छ,
शायद सयौं वर्ष लाग्ने छन् |
क्षेत्र 'प्रेम' मुखिया
सिलीगुड़ी , भारत
No comments:
Post a Comment