कथा: प्रेमास्पद चार वर्षहरू
स्रष्टा: अभिमन्यु निरवी
चिसा दिनहरू सकिएर ताता दिनहरू सुरु भए । रूखका पातहरू झरेर भुइँमा बग्रेल्ती भए । सायद रूखका हाँगाहरूमा कमला, चिल्ला पालुवा पनि पलाइसक्यो होला तर प्रीतिको फोन आएन । लाग्यो यी सब झूट हुन् ।
हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको चिहान डाँडामा मेरो लास गाडिएको छ । त्यसकै आडको एउटा दर्शनढुंगामा लेखिएको छ–कर्मशील तुम्बाहाम्फे (२०४०–२०६१) । मसँग त्यो पहिलेको सग्लो शरीर छैन । मसँग घर, परिवार, मैले बोक्ने सेतो छडी र मेरा प्रिय किताबहरू छैनन् । छ त एउटै आत्मा र त्यहाँ हरदम सलबलाइरहने श्रीमती र छोरीको माया ।
२०५८ सालराति आठ बजेको थियो । चिसो हावा कोठाको एउटा झ्यालबाट छिरेर अर्काेबाट निस्क्यो । छात्रावासको त्यहीकोठामा जम्मा भएका थियौं म, सुवर्ण र अरूहरू । अगाडि टेबुलमा थियो गजलको धुन बजाइरहेको एउटा सानो रेडियो । प्रस्तोता प्रकाश दाइका मधुर आवाज कानको बाटो भएर मुटुसम्म पुग्यो । कति मीठो बोल्छन् तिनी । तिनको बोली र गजलका हरएक हरफहरूको तालमेलले छुट्टै मजा दिन्थ्यो । एकछिनमै प्रकाश दाइले मैले पठाएको गजलको हरफहरू सुनाए :
अझै पनि माया छ रे भनी पठाइछौ ।
ज्यानै दिन्छु दिन परे भनी पठाइछौ ।।
बाडुल्की नै लाग्दैन हिजोआज किन ?
कहिलेकाहीं याद गरे भनी पठाइछौ..
रहर थियो तिम्रो हुने, अरूकै पो भएँ ।
सपनाको फूल झरे भनी पठाइछौ ।
एकहप्तापछि एउटा चिठी हात पर्यो । चिठी मैले छामेर बुझ्ने अक्षरमा थिएन । म त एक दृष्टिविहीन थिएँ, छिद्रहरू छामेर शब्द बुझ्ने । कलमले लेखिएको त्यो चिठीसुवर्णले पढेर सुनाए । लेखिएको थियो:
प्रिय कर्मशील तुम्बाहाम्फेजी,
तपाईं आफ्नोबारेमा के सोच्नुहुन्छ, थाहा छैन । तर मेरो विचारमा तपाईं निकै राम्रो गजल लेख्नुहुन्छ । शब्दहरू खेलाउन र बंग्याउन सिपालु । हरएक शब्दहरू मुटुमा लाग्ने । एक दुईपटक तपाईंको गीत पनि सुनेको छु मैले एफएममार्फत । सारै nसुरिलो छ तपाईंको आवाज । अन्तिममा यो पत्रमार्फत मित्रताको हात तपाईंतिर बढाएकी छु । रिसानी माफ ।
प्रीति
झनन् भएँ म । मैले सुवर्णलाई सोधें, ‘अनि ठेगाना ?’
‘छैन ।’
त्यसपछि म चुप भएँ । तर मनमा भने प्रीतिको काल्पनिक तस्बिर कोरिंदै थियो । दसैं–तिहारको संकेत बोकेर सयपत्री र मखमलीको सुगन्ध हावासँगै बहन थाल्यो । नजिक गई ती फूलहरू स्पर्श गरेँ । यतिबेलासम्म प्रीतिका चार चारवटा पत्रहरू आइसकेका थिए । खुसीले मन ठेगानमा थिएन ।
प्रीतिको चौथो पत्र पढेपछि सुवर्णले भने, ‘के हो यार यो केटी ? माया गरेजस्तो गरी चिठी लेख्छे अनि आफ्नो ठेगाना सेगाना केही दिन्न ।’
‘नदेखी नभेटी केको माया ?’ मैले भनें ।
‘हरेक शब्दमा भेटेपछि केलाई भेट्न पर्यो डाइरेक्ट?’
सुवर्णको कुराले म रन्थनिएँ ।
जाडो महिना पनि लाग्यो । ऊनीको भुवादार टोपी लगाएर म मेसमा पुगें । सुवर्ण त्यहीं थिए । को होला मेरो मनसँग खेलिरहेकी त्यो केटी ? सोच्दासोच्दै ढलपल भएको थिएँ म । त्यही ढलपलमा एउटा गजल फुर्यो । कोठामा फर्केपछि त्यसलाई ब्रेल लिपिमा लेखें । सुवर्णले त्यसलाई अक्षरमा ढालिदिए अनि पठाइदिए रेडियोमा ।
चार दिनपछि प्रकाश दाइको आवाजमा त्यो गजलहावामा तरंगित भयो ।
शब्द शब्दमा भेट भएपछि यो बीस शून्य बाह्रको के काम ?
नदेखेरै देखादेख भएपछि यो बीस शून्य बाह्रको के काम ?
बज्छ घण्टी, आउँछन् अनेकन कल, पोखिन्छन् शब्दका नदीहरू
साथमा तिम्रै अवशेष भएपछि यो बीस शून्य बाह्रको के काम ?
चिसा दिनहरू सकिएर ताता दिनहरू सुरु भए । रूखका पातहरू झरेर भुइँमा बग्रेल्ती भए । सायद रूखका हाँगाहरूमा कमला, चिल्ला पालुवा पनि पलाइसक्यो होला तर प्रीतिको फोन आएन । अनि लाग्यो यो प्रीतिको नाममा कसैले ममाथि गरिरहेको छल हो । यी सब झूट हुन् ।
२०५९ साल
वैशाख १ गते, मेरो लागि छात्रावासमा फोन आयो । म सेतो छडी टेक्दै गएँ । एउटा केटी आवाज मेरो कानमा गुन्ज्यो ‘म प्रीति ।’ एकछिन त म बोल्नै सकिनँ । झन्डै झन्डै हातको रिसिभर झरेन । ऊ नै बोली, ‘नयाँ वर्षको शुभकामना ।’
‘धन्यवाद....तपाईंलाई पनि ।’एकछिन कुराकानी भयो तर के के भनें पछि सब बिर्सें । दिमागमा एउटै कुरा छाइरह्यो, साँच्चै प्रीति भन्ने कोही चाहिँ रहेछ । प्रीति को हो ? ऊ के हो ? म धेरै सोच्ने भएँ । सायद टोलाउने पनि । म टोलाएको देखेर सुवर्णले सम्झाए, ‘केही हुन्न । धेरै सपना नदेखेकै जाती । तिम्रोबारेमा सब कुरा थाहा छैन प्रीतिलाई । तिम्ले आँखा नदेख्ने कुरा, मेरो एउटा खुट्टा नभएको कुरा थाहा पाउनेबित्तिकै मान्छेहरू मुन्टो बटार्छन् ।’सुवर्णको कुरा ठीकै लाग्यो । त्यसैले एकछिनलाई मैले प्रीतिलाई बिर्सें । दस कक्षा त्यति सजिलो थिएन मेरो लागि । सुनेको भरमा पढ्नुपथ्र्यो । त्यसैले पास गर्न सकुँला कि नसकुँला ? शंकै थियो । त्यसमाथि प्रीतिसँगको बेनामको सम्बन्धले जीवनमा पिर घोलिदिएको थियो । तर पनि ऊसँग फोनमा कुरा हुन्थ्यो । सुखदु:ख साटासाट हुन्थ्यो । एकदिन फोनमा प्रीतिले भनी, ‘म तपाईंलाई भेट्छु ।’खुट्टा थररर कामे । के भनूँ भनूँ भयो । तर बोली फुत्क्यो ‘हुन्छ नि’ ।
कोठामा आएपछि सुवर्णले झन्डै मारेनन् मलाई । रिसाहा बाघजस्तै गरी घुरे उनी । ‘किन भेट्छु भन्न परेको ?’‘उसैले हो,’ मैले थुमथुमाएँ । ‘उसको मनमा भइरहेको इज्जत पनि गुमाउने भयौ ।’
‘ठीकै छ । उसले मलाई भेटेपछि बाटो मोड्छे भने मोडोस् ।’‘त्यो त पक्कै हुन्छ । हेरिराख ।’
त्यो रात म निकै नराम्ररी रोएँ । मेरो दृष्टिविहीनतालाई कमजोरी बनाएर कसैले टुक्र्याउँछ भने त्यो जति पीडादायी के होला ? मैले बा आमालाई साँच्चै सरापें । पाँच वर्षको हुँदा तिनीहरूले मलाई धामीकोमा नलगेर डक्टरकोमा लगेको भए, कुखुरा र बोका नकाटेर टाइफोइडको औषधि दिएको भए आज यो दिन आउने थिएन सायद । मेरो भाग्य....। मैले अतीतदेखि सबै कुरा सम्झिएँ र चुकचुकाइरहें । अनि एउटा निर्णय पनि गरें, अब म प्रीतिलाई भेट्दिनँ । तर निर्णय गरेको २४ घन्टा पनि नबित्दै सुवर्ण हस्याङ फस्याङ गर्दै कोठामा आइपुगे । उनी आत्तिएको पहिलोपल्ट महसुस गर्दै थिएँ म । उनले हतारमा भने, ‘प्रीति आएकी छे ।’ मेरो होस गुम्यो । लल्याकलुलुक भएँ म । ‘के गर्ने हो ?’ सुवर्णले सोधे । ‘म जान्नँ ।’ मैले अड्डी कसें । ‘भेट्न भनेर टाढाबाट धाएर आएकी छ । एकपल्ट भेट यार । सारै सोझीजस्ती छे केटी । एकपल्ट भेट्दा सब कुरा स्पष्ट हुन्छ भने किन नभेटन्े ? जाउँ’ सुवर्णले करै गरे । ‘तिम्ले नै नभेट भनेको हैनौ ?’‘अनि तिम्ले नै बोलाका हैनौ ? भेट । पाहुना हो त्यत्तिकै नफर्काऊ ।’ मन नलागी नलागी मैले सेतो छडी उठाएँ र हिंडें छात्रावासको गेटतिर । जति जति नजिक गएँ । उति उति सास फुल्यो । फर्किउँकि झैं ठानें तर सुवर्णले मलाईं छाडेका थिएनन् । प्रीतिको नजिक पुगेपछि एउटा मीठो अत्तरको वासनाले झ्याप्प नाकमा हान्यो । प्रीतिले श्वास फेरेको आवाज मेरो कानमा पर्यो । म उसको अघि गएर टक्क अडिएँ र बोलें, ‘नमस्ते म कर्मशील...।’‘नमस्ते ...म.....प्रीति ।’ प्रीतिको आवाज थरथरायो । सायद उसले विश्वास गरिनँ, म नै कर्मशील हुँ भनेर । उसले मेरो हात छामी । उसका हातहरू काँपिरहेका थिए । ‘तपाईं देख्नुहुन्न ?’ उसले अविश्वासले सोधी । ‘हो त,’ मैले यति नै भनेँ । ऊ एकछिन केही बोलिनँ । हुनसक्छ उसले आफैंलाई विश्वास दिलाउन समय लिएकी हो । एकछिनपछि उसले भनी, ‘तपाईं सारै राम्रो लेख्नुहुन्छ ।’‘लेख्ने प्रयास मात्र हो ।’मैले उसलाई हेर्न त पाइनँ तर उसका आवाजले उसको सुन्दरता झल्काउँदै थियो । सोचें ऊ तनकी जस्ती भए पनि मनकी सुन्दरी छे । तर अर्को मनले छिनमै भन्यो, केही नसोच । केही हुँदैन । आजदेखि ऊ आफ्नो बाटो, तँ आफ्नो बाटो । तर सोचेको भन्दा उल्टो भयो । प्रीतिसँगको सामीप्यता झन् गाढा बन्यो । फोनमा, पत्रमा, भेटघाटमा ऊ मसँग झन्झन् नजिकिई । एकसाँझ चिया बारीको मन्द हावामा उसले मलाई अँगालो हालेरै भनी, ‘कर्मशील...अब यति होला हाम्रो भेट ।’‘किन ?’ म उसको अँगालोबाट झट्ट फुस्किएँ । प्रीतिले भनी, ‘मैले पाउँछु नै भनेर तपाईंसँग सम्बन्ध गाँसेकी हैन, तपाईंसँग प्रभावित भएर हो । तपाईंलाई था छ कि छैन, तपाईं र मेरो जात मिल्दैन ।’‘कसरी ?’‘मेरो नाम प्रीति परियार हो’ ।‘जे होस्, मेरो लागि तिमी मान्छे मात्र हौ । मेरो प्यारो मान्छे,’ म बोलें । ‘मेरो बिहेको कुरा हुँदैछ ।’प्रीतिको पछिल्लो वाक्यले मलाई नराम्ररी हिर्कायो र लडायो । म चाहेर पनि उठ्न सकिनँ ।
२०६० साल
मेरो एसएलसी सकियो । छात्रावास छोडेर कोठा लिएर बस्न थालेको थिएँ । रेडियोमा गजल वाचन गर्ने प्रकाश दाइ काठमाडांै गइसकेका थिए । सुवर्ण पनि छुट्टै बस्न थालेका थिए । उनी एकदिन मेरोमा आए । मेरो अन्तरकुन्तरमा भरिएको द्वन्द्व देखेर उनले सम्झाए, ‘तिमीलाई जस्तो छ त्यस्तैमा स्विकार्ने मान्छेलाई तिमी नटुक्राऊ ।’
‘तिम्रो मतलब ?’
‘जे जस्तो होस्, तिमलाई प्रीतिले भन्दा बढी माया अरूले सायदै गर्लान,’ सुवर्ण बहकिए ।
‘त्यसैले मैले उसलाई बोलाएको छु,’ मैले भनें, ‘उसको बिहे अरूसँग भएको सुन्ने हिम्मत भएन यार ।’
‘ग्रेट ।’ सुवर्णले आफ्ना दुवै हातले मेरो दाहिने हातलाई सुमसुम्याए ।
प्रीति आई । घर छोडेर । परिवार छोडेर । म, सुवर्ण र प्रीति मन्दिर पुग्यौं । तर त्यहीं हामीलाई छुट्टयाइयो । एउटा नयाँ जीवन सुरुवात गर्नुअघि नै हाम्रो सम्बन्धलाई टुक्र्याइयो ।
‘घरपेटी चतुर्मानले नभनेको भए यो कुरा पनि था नहुने, कतिसम्मको निहुँ खोजा र छ त हौ ।’ मेरो बाले निकै गाली गरे ।
‘भागेर बे गरुँला भनेकी होलिस् । कान्छी छोरी भाकी तँ,’ प्रीतिको बाझैं ठानें मैले । सायद होलान् । देखेको सपना छिनमै भत्कियो । तर मैले हिम्मत हारेको थिइनँ । सबै कुरा शान्त हुँदै गइरहेको थियो । सुवर्णले मलाई साथ दिइरहेका थिए ।
एकदिन मैले सुवर्णलाई भनें, म प्रीतिलाई लिएर भाग्छु । उनले मेरो कुममा हात राखे र हौसला दिए ।
एउटा गोधूलि साँझ हामी दस माइल टाढा प्रीतिको गाउँ पुग्यौं । अगाडिदेखि नै लुकेर धाराको छेउमा बस्यौं । धारामा आएकी प्रीतिले मलाई र सुवर्णलाई देखी । सुवर्णले केही इसारा गरे । एकछिनपछि प्रीति एक पोको लुगा बोकेर हामी भएको ठाउँमा आई । हामी सँगसँगै हिंड्यौं । प्रीतिले मेरो हात समातेर डोर्याई । बसपार्कमा पुगेपछि बसको टिकट र एउटा फोन नम्बर लेखेको कागज थमाउँदै सुवर्णले भने, ‘ल अब तिमीहरू जाऊ । नम्बर लेखिदिएको छु, प्रकाश दाइलाई काठमाण्डुमा भेट्नु ।’
त्यसपछि म नतमस्तक भएँ । प्रीति मेरो हात समाएर अघि अघि हिंडी । म पछि पछि ।
काठमाण्डुमा डेरा खोज्नेदेखि सबै काम प्रकाश दाइले गरिदिए । जति मीठो स्वर त्यति सुन्दर मन । उनैले मलाई दृष्टिविहीन साथीहरूको गायन समूहसँग परिचय गराइदिए । तिनै साथीहरूसँग मिलेर ठाउँ ठाउँमा मैले पनि गीत गाउन थालें । लाग्यो, मान्छेले जन्मिँदा जुन कला लिएर आएको हुन्छ, धेरैजसो उसको बाँच्ने सहारा पनि त्यहीबन्दो रहेछ ।
कोठा सानो थियो । प्रीति र मलाई ठिक्क । म एसएलसीमा पास भएको थिएँ त्यसैले अरू पढ्न चाहन्थें तर तालमेल मिलिरहेको थिएन । अब जीवनमा सजिला दिनहरू बाँकी थिएनन् । संघर्ष र कठीन चुनौतीका दिनहरू मेरा अगाडि ढसमस्स पसारिएका थिए । साँझको खाना खाने बेलामा एकदिन प्रीतिले भनी, ‘कर्मशील हामी तीनजना हुने भयौं अब ।’
यो सहर, यहाँको महँगी र आफ्नै असुरक्षित भविष्य सम्झेर सुरुमा त म झस्किएँ । तर पछि खुसी भएँ । हाम्रो यो सानो कोठामा कोही आउँदैछ हाम्रो सहारा बनेर ।
२०६१ साल
बाउ बन्ने खुसी अर्कै हुँदो रहेछ । थोरै डर र धेरै दायित्व । पेटभित्रको बच्चा ६ महिना पुग्यो । अब मैले अलि बढी कमाउनु थियो । त्यसैले केही संस्थाहरूमा कामको लागि आवेदन दिएको थिएँ । गायनलाई पनि छोडेको थिइनँ । लेख्ने कामचाहिँ पूरै बन्द । गाउनैका लागि एकदिन म रत्नपार्क पुगें । वरिपरि भीड थियो । भीड र सवारी साधनहरूको चर्को कोलाहलबीच मैले गाएँ । गाउँदागाउँदै एउटा केटो आयो र मलाई समाएर छेउमा लग्यो । तुरुन्तै चारँ पाँचजनाले मलाई डोराएर गाडीमा हाले । मेरो केही जोर चलेन ।
गाडीभित्र मैले तिनीहरूलाई सोधें, ‘को हो ?’
‘हामी के त राजीव, धने, चन्द्र...।’
‘अनि मलाई काँ लान लाग्या हौ ?’
‘तेरो घर । बा आमाले खोजेर हैरान छ । साला तँचाहिँ यता आएर बस्ने ? त्यो पनि दमिनी टिपेर ।’
‘ऊ मेरी श्रीमती हो । हाम्रो बच्चा पनि हुँदैछ । छोड्द्याओ मलाई ।’
‘छोड्ने भए यतिका दिन खोज्थेउँ, पैसा ल्याछौं हाम्ले तेरो बासँग । अब चुपचाप घर जाने ।’
केटाहरू यति कडा भएकि म नरम हुन करै लाग्यो । न मैले प्रीतिलाई एक कल गर्न पाएँ, न मेरो अनुरोध उनीहरूले स्विकारे । बाटोभरि म रोएँ । तर तिनीहरूले वास्तै गरेनन् ।
पाँच दिनसम्म म घरमा बन्दी भएँ । बाले भने, ‘जे नगर भनेको त्यही गरिस् । अब तँ यहीं बस्लास् । बिहे यतै गर्नी हो अब ।’
‘बिहे भइसक्यो मेरो,’ म चिच्याएँ ।
‘यही खुकुरीले सिद्धेलास् तँ,’ बा कडा सुनिए । उनले खुकुरी ट्वाङ्ग काठमा ठोके । म केही बोलिनँ ।
भोलिपल्ट साँझतिर म पिंढीमा बसिरहेको थिएँ । जेठका अन्तिम दिनहरू । गर्मी त्यत्तिकै । मनको गर्मीको त के कुरा ? म पूरै क्षतविक्षत भएको थिएँ । टक टक टक केही पाइला मतिरै अघि बढे । प्रीति हिँडेको जस्तो पनि लाग्यो । नभन्दै हो रहेछ । जब उसले मलाई गम्लंग अँगालो हाली । तब वाक्य नै फुटेन मेरो । ‘कस्तो छ ?’ उसैले सोधी । त्यतिबेलासम्म मेरो हातमा उसको तातो आँसु खसिसकेको थियो ।
एक्कासि मेरो भक्कानो फुट्यो । म बर्बराएँ, ‘मलाई गाडीमा कोचेर ल्याए । बलजफ्ती । माफ गर प्रीति । कसरी आइपुग्यौ ?’
‘तपाईंका गाउने साथीहरूले भने...’
‘सरी’ मेरो आवाज निस्कियो । प्रीतिको पेट सुम्सुम्याएर म निकै बेर रोइरहें । ढोकाबाट बा र आमा बाहिर निस्के । तर केही बोलेनन् ।
‘तपाईंहरूले के गर्न खोजेको ?’ एउटा कडक आवाज आयो ।
‘किन हौ ? के भन्नुभा हो हजुरले ?’ बा बोले ।
‘छोरोलाई छुट्याएर किन ल्या ? ब्वारी अर्की जातकी परी भनेर ? ल यो बुहारीलाई भित्र लानुस् । र अब आइन्दा यस्तो केही सुन्न नपरोस् । नत्र जे पनि हुन्छ याँ,’ त्यो मान्छे फेरि बोल्यो ।
‘को हो ?’ मैले प्रीतिलाई सोधें ।
‘माओवादी छापामार, बाटोमा आउँदै गर्दा गारो भएर बसेकी थिएँ । उहाँहरूलाई भेटें । सब कुरा बताएँ । उहाँहरूले नै हामी सहयोग गर्छौं भनेर ल्याउनुभो ।’
प्रीतिले त्यति भन्न मात्र के पाएकी थिई, गोली चल्यो । ढिच्याउँ, ढं्वाङ, ड्याङ, डडङ्ग । हो हो हा हा मान्छेका चित्कारहरू सुनिए । एउटा युद्ध मैदानझैं बन्यो घर । बा चिच्याए । आमा चिच्याइन् । डरले प्रीतिको बोली निस्केन । म कराएँ , ‘प्रीति प्रीति’ । प्रीतिको आवाज आएन । बरु मेरो छातीमा तातो केही घुस्यो । म भक्लक्क लडें । त्यसपछि प्रीतिको चित्कारहरू कानमा कतै कतै ठोक्किएझैं लाग्यो । गोली चलिनै रह्यो । एउटाले नजिकै आएर भन्यो, ‘साला कसैलाई नछोड । एक एकलाई हान् ।’
‘साप, यो केटी त पाउनेजस्तो छ ।’
‘अहिले छोड् त्यसलाई । अगाडि बढ् शाही सेनासँग निहुँ खोज्ने । ट्रयापमा कसरी पार्न पर्छ हाम्लाई नि था छ ।’
यति मात्र सुनें । त्यसपछि शब्दहरू गज्याङगुजुङ, कल्याङकुलुङ हुँदै बिलाए । टुँ....एउटा शून्यता छायो वरिपरि । मैले केही पनि सुनिनँ ।
म मरें । मसँगै बा आमा नि मरें ।
यमलोकतिर जाँदै गर्दा बा आमा नि सँगै आइरहेका थिए । तर कहाँनिर उनीहरूसँग छुट्टिएँ म, पत्तै भएन । हिजोआज यो यमलोकको अप्ठ्यारो बाटोमा मेरो आत्मा एक्लै छ । म पृथ्वीतिर हेरिरहेछु र देखिरहेछु प्रीतिलाई । प्रीतिसँग एउटी राम्री छोरी छे । काटीकुटी मैजस्ती । छोरी बेला बेलामा सोध्छे, ‘बाबा खै ?’
प्रीति आकाशतिर देखाउँछे र भन्छे, ‘ऊ माथि ।’
प्रस्तुत कथा कोसेली बाट साभार गरिएको हो।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
No comments:
Post a Comment