कविता : मेरी आमा, दशैँ र सपना
स्रष्टा: वसन्त दाहाल 'सहयोगी'
रातो टीकाले वर्षौ नपोतिएको मेरो निधार
न दशैं आउँदा रमायो न त तिहार
किनकि, हरेक दशैं र तिहारहरूमा
मेरी आमाको नाकको फुली हराउँथ्यो,
तिलहरी हराउँथ्यो अनि कानको ढुङ्ग्री हराउँथ्यो ।
त्यसैले, मेरी आमाका हराएका गहनाहरू खोज्न
म समुद्रपारिको यो बिरानो शहर आइपुगेकोछु
यहाँका मानिसहरूले मलाई जेसुकै भनून्
तर, म उनीहरूलाई नियालिरहन्छु,
कतै कसैले आमाको जस्तै गहना लगाएको देखें भने
कुनै शिकारीले निशाना ताके झैं गरी एक टकले हेरिरहन्छु
फर्की फर्की हेरिरहन्छु ।
मेरो शरीरबाट मिहेनतको भल बगेको देख्दा
लाग्छ कुनै दिन म मेरो लक्ष्यको टुप्पोमा
अवश्य पुग्नेछु
र मरुभूमिमा हिंडिरहेको मानिसले पानी भेट्दा खुशी भए झैँ
म उफ्रिदै - उफ्रिदै घर पुग्नेछु ।
अनि,
आमालाई नाकमा फुली र कानमा ढुङ्ग्री लगाइदिनेछु
त्यतिखेर ! मेरी आमा हर्षका आँशुले परेली भिजाउँदै
मुस्कुराइन् भने ! त्यो दिन नै मेरो दशैं हुनेछ ।
आमा मुस्कुराएकै दिन मेरो तिहार हुनेछ
आमा मुस्कुराएकै दिन मेरो दशैं हुनेछ ।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
-
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन ☞यहाँ क्लिक गर्नुहोस्।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
No comments:
Post a Comment