गजल : मन बाँडिएझैँ लाग्छ
स्रष्टा: कृष्ण वस्ती
भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ।
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ॥
एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती।
त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ॥
छाती खन्यो विरहले गहिरिंदै गएँ।
निसासिंदो खाडलमा गाडिएझैं लाग्छ॥
साउनझैं रोई-रोई रुझेको यो जुनी।
सन्सारका सबै खुसी ढाडिएझैं लाग्छ॥
हृदयमा लेखिएका फूल जस्ता गीत।
काँढामाथि अल्झिएर फाडिएझैं लाग्छ॥
सङ्लो थिएँ बग्दाबग्दै पहिरोमा परेँ।
भेल जस्तो आज मलाई भाँडिएझैं लाग्छ॥
तोरी फुले जस्तो मेरो सपनाको वस्ती।
कोही पसी एकैछिनमा माडिएझैं लाग्छ॥
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
No comments:
Post a Comment