कथा: चरीको कथा
कथाकार: महावीर विश्वकर्मा
(२०७०/११/०५)
म आज तपार्इंलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको
सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।
आज सुनाउँदैछु एउटा कथा,
त्यो एकादेशको कथा...त्यो एकादेशमा पनि घना
जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर
भर्खर जोडी बनेका ती सुन्दर चरा र
चरीको कथा...।
त्यो घना जंगलको बीचमा एउटा रुख थियो ।
जहाँ बस्नका लागी सुन्दर गुँड
थियो...घुम्नका लागी खुल्ला आकाश थियो ।
कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात
पतिङ्गगर खोस्रिएर अघाउँथे ।
खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले
चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु
। त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले
चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे
खुशी हुन्थे उनीहरु ।
चरोको एउटा बानी थियो । जब
आहारा भेट्थ्यो अनि भुर्रर उडेर
चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ
गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले
मुख आँ गर्थिन् अनि चरोले
उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले
खाइदिन्थ्यो । त्यतिबेला चरीले रिसाएझैँ गरेर
उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर
मुन्टो फर्काएर ठुस्किन्थिन् । तब
त्यो चरो उनलाई जिस्काउँदै लुकाएर
राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी,
तिमी किन सँधै यसैगरि सताउँछौ मलाई ।
चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर
पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी,
होला खुब्बै भन्दै आहारा खोस्थी,
अनि दुवैजना हाँसीहाँसी खान थाल्थे ।
यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु ।
तर एकरात बेस्सरी हुरी चलिरहेको थियो ।
दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै
थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए ।
एक्कासी ठुलो आवाज आयो । आफु हुत्तिएर
भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर
छेउमा चरोलाई हेरि, देखिन ।
अलि परपट्टी आफुहरुको गुँड देखी,
सकी नसकी दौडिँदै त्यहाँ पुगी,
भत्किएको थियो त्यो । भित्र चरो छ की भनेर
हेरि, अहँ देखिन । हुरी चलिरहेकै थियो,
पानीको छिटा पनि शुरु हुन आँटेको थियो ।
एकैछिनमा दर्किएर पानी प¥यो । बिजुली चम्किन
थाल्यो । बिजुली चम्किएकै उज्यालोमा रुझ्दै रुझ्दै
चरोलाई खोजीरही उसले । तर फेला पार्न भने
सकिन ।
खोज्दा खोज्दै थाकी तर भेटिन उसले
अनि छेवैको रुखको चरा मुन्तिरको खाल्डोमा ओत
लागेर बसि । रात अझै उघ्रिएको थिएन ।
मनमा अनेकन कुराहरु खेल्न थाले । कतै
केही पो भयो की चरोलाई भन्ने सोँच्दा जीउ ढक्क
फुलेर आउँथ्यो उसको । न उ पनि रुझ्दै रुझ्दै मलाई
नै खोजिरहेको पो छ की भन्ने सोँचाई
मनमा आउँदा एकफेर त्यो ओतबाट बाहिर
निस्किएर हेर्थी । बाँकी रातभरि यही क्रम चलि नै
रह्यो ।
विस्तारै रात भाग्यो, उज्यालो भयो । अनि उ
पनि बाहिर निस्किएर चातैतिर खोज्न थाली चरोलाई
। खोज्दै अलि पर के पुगेकी थिई,
एउटा ढुङ्गाको कापमा पछारिएर प्राण
उडिसकेको चरोलाई भेट्टाई उसले ।
हत्तारिएर नजिक पुगी, मुखबाट केही रगत
बगेको थियो । पानीले भिजेर पखेँटा एकै
डल्लो परेका थिए । आँखा बन्द थियो,
छेउमा केही प्वाँखहरु खसेका थिए, ती पनि भिजेर
भुइँमै टाँसिएका थिए ।
त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे
पानी दर्कियो । तर त्यो पानी बाहिरबाट हाईन,
चरीको आँखाबाट दर्कियो । जसले एकपटक
फेरी लुछ्रुप्पै भिजायो, भुइँमा लम्पसार
परेको चरोलाई ।
एकादेशमा जंगल थियो त्यहीँ बस्थे चराचरी ।
सँसार भन्नु खुल्ला आकाश, उडिरहन्थे घरीघरी । ।
एकदिन ठुलो हुरी आयो, हाँगा भाँच्यो, चरो मरे
अनि कठै ती चरी त एक्ली भइन् सँधैभरि । ।
रोएरै बसिरही चरी, मृत चरोको छेवैमा ।
केहीबेरमा घाम लाग्यो, दिन भयो । उ भने बेप्रवाह
आँखाबाट आँशुको बलेसी बगाउँदै
थच्चिरही त्यहीँ । जब उसको प्रिय चरोलाई
कमिलाका ताँतीहरुले घेरिरहेको उसका टिलपिल
भरिएका आँखाले देखे । अनि रुँदै रुँदै पानीले
भिजेको कमलो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले
खोस्रिँदै सानो खाल्डो जस्तो बनाई ।
अनि चरोलाई चुच्चाले च्यापेर घिसाद्रै
त्यो खाल्डोमा हालेर पुरिदिई । एकछिन
त्यही सानो खाल्डोमाथी आँशु चुहाई । अनि खै के
सोँचेर हो, एकपल्ट पनि पछि फर्किएर नहेरिकन बेग
हानेर बत्तिइ ।
पहिले यसैगरि बेग हानेर
आकाशमा बत्तिँदा चरो कहिले उ
भन्दा अघि हुन्थ्यो, अनि कहिले पछि । तर
यतिबेला भने उ एक्लै अघि भइरहेकी थिइ । सायद
अब सँधै यसैगरि उ मात्रै अघि भइरहँदी हो ।
किनकी छिनछिनमा उसलाई उछिनेर अघि जाने
उसको प्रिय चरोलाई निक्कै पर छोडिसकेकी थिई
उसले । उसले छोडेकी थिइन । उ आफै
छुटेको थियो । अझ भनौँ नियतिले
छुटाएको थियो उसलाई ।
रुँदैरुँदै उडेकी चरी निक्कै डाँडा काटेर टा..ढा....
पुगी । बस्ने ठेगान नै खोसिएकोलाई के छ र ।
जहाँ रात पर्यो त्यहीँ बास् । अनि जहाँ बास्
बस्यो, त्यहीँ घर । त्यो रात
त्यहीँको एउटा रुखमा ओत लागेर बिताई उसले ।
हिजोको निरन्तरको उडाईले होकी, मनमा पिर भएर
हो, विहान भएपछि फेरी उड्नै सकिन उ, उड्ने जाँगर
पनि आएन । यसैगरी केही दिन त्यहीँ बिताई ।
जब उडेर अन्तै जाउँ की भन्ने सोँची,
अनि मनमा लाग्यो, आखिर जानु पनि कहाँ ।
कसलाई पो भेट्नु छ र । को नै पो छ र
आफ्नो भन्ने । यस्तै सोँची, अनि जहिलेसम्म हुन्छ
त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरि ।
विस्तारै केही दिनहरु बिते । रातहरु दिनसँगै बित्ने
नै भए । एक विहान जब उ ब्यूँझिएर गुँडबाट बाहिर
निस्की । तब
केही परको रुखमा बसेको एउटा चरो उसैलाई
हेरिरहेको पाई । चरो भुर्रर उडेर नजिक आयो ।
अनि आफुले चरिलाई धेरै दिनदेखी हेरिरहेको बताउँदै
साध्यो-
'तिमी किन कहिल्यै पनि उडेर बाहिर जाँदैनौ ?'
चरीले भनी, 'यसै' ।
'तिमीलाई यो नयाँ ठाउँमा रमाइलो लागेन हो ?'
त्यो अपरिचित चरोको प्रश्न
'खै थाहा छैन' चरीको जवाफ ।
'किन थाहा नभएको नी ?' प्रश्न माथीको प्रश्न ।
'त्यो पनि थाहा छैन ।' फेरी उस्तै जवाफ ।
'तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र ?'
'मन ?????'
एक्कासी झस्किइ चरी, त्यो मन भनेको सुनेर ।
अनि आफु पनि प्रिय चरोसँग कहिले अघि र कहिले
पछि वेग हानेर उडिरहेको दिनहरु र त्यही प्रिय
चरोलाई चुच्चोले घिसारेर खाल्डोमा पुरेको दिन
एक्कैपटक सम्झी उसले । अनि,
ठुलो अन्यौलमा परि, त्यो नयाँ चराले
सोधेको जस्तो उसको मन आफैसँग छ की छैन भनेर
। कति प्रयत्न गरि तर पत्ता लगाउन सकिन ।
उ केही बोलिन, यसै निरुत्तर बसिरही ।
त्यो नयाँ चरा भुर्रर उडेर गयो ।
अनि एकैछिनमा फेरी उसैगरि टुप्लुक्क आईपुग्यो ।
अनि चुच्चाले च्यापेर ल्याएको आहारा चरीलाई
दियो । उसले एकछिनमा खान्छु भनेर
गुँडमा राखी ।
क्रमश : यसैगरि नजिक भए उनीहरु ।
चरा चरीसँग नजिक हुन थाल्यो । विस्तारै गुँडबाट
केही परसम्म उडाएर लैजान थाल्यो ।
त्यसरी उड्दा त्यो चरा कहिले अघि त कहिले
पछि हुन्थ्यो । हो यति नै
बेला बेस्सरी सम्झिन्थी चरी, आफ्ने प्रिय चरोलाई
। सायद रुँदी पनि हो त्यतिबेला । उसैलाई
सम्झिएर ।
यसैगरि बित्दैथे दिनहरु । बिस्तारै
चरीको मनमा बसिरहेको थियो नयाँ चरा । एकदिन
त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो -
'अब सँगै एउटै गुँडमा बसौँ' भन्ने प्रस्ताव ।
उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले
बेस्सरी मुक्का हाने झैँ भयो । केही बोलिन् ।
चरा भुर्रर उडेर गयो । अलिबेरमा आयो ।
अनि ल्याएको आहारा खान चरीलाई मुख आँ गर्नु
भन्यो, चरीले पनि त्यसै गरि ।
तर उसले चरीलाई नदिई आफैले पो खायो,
त्यो आहारा ।
अनि चरीलाई जिस्काउँदै हाँसिदियो ।
उसको यो व्यवहारले आफ्नो प्रिय चरोको याद
दिलायो चरीलाई ।
उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै
गरेको सम्झिइ ।
अनि गहभरि आँशु पारि । त्यो देखेर त्यो चराले,
'ल ..किन रोएको ? जिस्काएको पो त' भन्दै
अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो ।
अनि त झनै भक्कानिएर रोई चरी । चराले त
त्यो कुरा बुझेन बरु
'तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है !'
भन्दै भुर्र उड्यो ।
उडेको मात्रै के थियो, परबाट कसैले
हानेको गुलेलीको मट्याङ्ग्रोले छातीमै लागेर खुत्रुकै
भुईँमा खस्यो ।
सायद आईया !!!! पनि भन्न नपाएर ठहरै भयो उ
।
एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत
जस्तै भई चरी । सायद उ पनि चराको 'एउटै
गुँडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थी',
तर त्यो सुनाउन नपाउँदै फेरी एक्लै भई चरी ।
पहिले जस्तै फेरी उसको, मन टुट्यो सँधै भरलाई ।
जेनतेन हाँस्न खोज्दा खोज्दै
खुशी लुट्यो सँधैभरलाई । ।
विचरीलाई आँशु मात्रै दैवको त्यो लेखा कस्तो
जोड्न जोड्न खोजिएको साथ छुट्यो सँधै भरलाई ।
(कथाकार सामुदायिक सूचना नेटवर्कबाट देशभर र इन्टरनेटमा संसारभर प्रसारण हुने चर्चित रेडियो कार्यक्रम 'बहकिने मन' का प्रस्तोता हुनुहुन्छ। )
****************
कथाकार महावीर विश्वकर्माका थप रचनाहरू पढ्न र कार्यक्रम 'बहकिने मन' सुन्न तलको लिन्क क्लिक गर्नुहोस्।
यहाँ क्लिक गर्नुहोस।
Thank you!
No comments:
Post a Comment