Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

लघुकथा: नाङ्गो यथार्थ

लघुकथा: नाङ्गो यथार्थ

लेखक: रूद्र ज्ञवाली, भैरहवा

मैले गम्भिरतापूर्वक वरिपरि हेरेँ । मेरो कथित घरका कुनै
पनि वस्तु आफ्ना थिएनन् । अरु त अरु मलाई मेरो नाग्नता
देखाई दिने त्यो ऐना पनि मेरो आफ्नो थिएन ।

“तैंले र तेरी श्रीमतीले लगाउने कट्टु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो प्रश्न सोध्यो । आज त अति नै गर्यो अस्तित्व पाण्डेले । मेरो सम्म त ठिकै हो । हेप्दाहेप्दै स्वास्नीका कट्टुसम्ममा पुग्यो ऊ । अतिक्रमणको पनि हद हुन्छ । झनक्क रिस उठ्यो । जमाएर बजियाका गाला चड्काई दिउँ जस्तो पनि लाग्यो । तर चड्काई हाल्ने आँट भने भएन । यसरी आँट नहुनुको कारण थियो मेरो तुलनामा अस्तित्व पाण्डेको विशाल काया र उसकै सौजन्यमा चल्दै गरेको यो जलपान । अस्तित्व पाण्डे र म शिशुकक्षादेखिका सहपाठी हौं र पनि उसको र मेरो देश एउटै हैन । उसको र मेरो नागरिकतामा लेखिएको भाषा फरक छ र पनि हामी दुबै नागरिकताका भाषा मज्जाले पढ्न लेख्न सक्छौं ।

ऊ आफू जन्मेको धर्तिमाथि गर्व गर्छ र म पनि आफ्नै भूगोलमाथि गर्व गर्छु ।
ऊ मलाई दरवान र चौकिदार भनेर चिढ्याउँछ, म उसलाई अङ्ग्रेजहरुको गुलाम भनेर उडाउँछु ।
“तेरो देश कहिल्यै कसैको गुलाम थिएन भन्छस् नि तँ, यथार्थमा तेरो देश कहिल्यै स्वतन्त्र थिएन र अहिलेसम्म पनि छैन ।” यसै भन्ने गर्छ अस्तित्व पाण्डे।

समय अनुसारको रुप र व्यवसाय फेर्न खप्पिस छ, ऊ । त्यसैले अचेल दशगजामा जोडिएको यताको भूगोलमा सयौं ड्रमहरु राखेर इन्धनको कालो कारोवार गर्छ । अहिले यता गुड्ने सवारीसाधनले फाल्ने धूवाँ जस्तै छ उसको कारोबार । र, पनि उसङग्को मेरो घनिष्टता अनुकरणीय मान्छन् छिमेकीहरु ।

Advertisement

“भन यार । छ, तेरो आफ्नो भन्ने केही ? तैंले शिरमा लगाएको यो टोपी छ नि, कहाँको धागोले बुनेको ? तैंले भिर्ने त्यो जनै छ नि कहाँको धागोबाट बनाएको ? तेरी स्वास्नीले लगाउने ब्रेसियर, पेटिकोटको कपडा र अनुहार लिपपोत गर्ने प्रशाधन कहाँबाट आएको ? तैंले लगाउने कोट, पाइन्ट, सर्ट र जुत्ता मोजा कहाँबाट आएको ? तेरो सर्टको बटम र पाइन्टको फस्नर कहाँबाट आएको ? तेरो शरिरमा अहिले जे जति छ नि त्यसबाट आयातित वस्तु उतार्ने हो भने तँसङ्ग के बाँकी रहन्छ ? अनि कहाँ बाँकी रहन्छ तेरो अस्मिता एवम् तैंले भट्ट्याउने गरेको स्वाभिमान ?” अस्तित्व पाण्डेले प्रश्न माथि प्रश्नहरु थपिरह्यो।

बडो गम्भिर प्रश्न गर्यो अस्तित्व पाण्डेले आज । म सङ्ग उसलाई दिन मिल्ने कुनै जवाफ थिएन ।
ट्वाइलेट जान्छु भन्दै खाँदाखाँदैको आधा गिलास त्यत्तिकै छोडेर म चुपचाप बाहिर निस्केँ । सरासर घरमा आएँ । बाथरुममा पसें र ठूलो ऐनाको अगाडि उभिएर शरिरमा रहेका आयातित वस्त्र एक एक गरेर खोल्दै गएँ ।

हो ठिकै त भन्दै रहेछ, अस्तित्व पाण्डे । सर्वाङ् नाङ्गो थिएँ म र वाथरुमको पूर्ण कदको ऐना कुरीकुरी गरेर मेरो आबरुलाई जिस्क्याइरहेको थियो ।
मैले गम्भिरतापूर्वक वरिपरि हेरेँ । मेरो कथित घरका कुनै पनि वस्तु आफ्ना थिएनन् । अरु त अरु मलाई मेरो नाग्नता देखाई दिने त्यो ऐना पनि मेरो आफ्नो थिएन ।
यथार्थबोध गराइ दियो अस्तित्व पाण्डेले, आज । यथार्थमा सर्वाङ्ग नाङ्गो रहेछु म र म जस्तै रहेछ मेरो देश पनि ।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


लघुकथा: तीन पत्र डायरीका

लघुकथा: तीन पत्र डायरीका

लेखक: हिमाल घिमिरे

Skip to content

Advertisement

पहिलो पत्र

प्रिय पूर्वप्रेमिका सुसाना!
पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनुपथ्र्यो/पर्छ । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ । तिमीलाई भुल्नु पनि आगोजस्तै लाग्छ । तिमीलाई सम्झिराख्नु पनि आगोजस्तै लाग्छ । शान्त पोखरीमा गिट्टी फालिरहेको छु । तरङ्ग उठिरहेको छ । यो पत्र पढेर तिमी तरङ्गित छौ । तिमीलाई पक्कै पनि विरसिलो लागेको हुनुपर्छ । वास्तवमा म यही थाहा दिन चाहन्छु कि तिमीले छोडी गएपछि म एक्लो छैन । तिम्रा सम्झनाहरू साथमा छन् । हो, यति नै पनि पुग्दो छ तिमीभित्र बेचैनी रोपिदिन । यद्यपि म उसै/त्यसै किन छोड्थे र तिमीलाई !

(तिमीले छोडेको सात दिनपछिको डायरीबाट)

दोस्रो पत्र

प्रिय सुसाना !
अविश्वासनीय र अकल्पनीयको संयोग हो रहेछ जिन्दगी । तिमी मेरी पहिली थियौ, यो हृदयलाई छुने, मलाई स्त्री र पुरुषको भिन्नता बुझाउने । तिमी त मेरी बाल्यकालकै साथी थियौ । मेरा निक्कै अनुभवहरू तिमीसित साझा छन् । मैले उनै कुरा फेरि गर्दा तिमीलाई सम्झिएको छु र यो कुरा मैले कामिनालाई भन्नु उचित मानेको छैन । ऊ मलाई असाध्यै प्रेम गर्छे जस्तो म तिम्रो प्रेममा बौलाउँछु, तर पनि ऊ र मबीच केही दूरी अवश्य छ । त्यो हो तिम्रो सम्झना । म कामिनासित रात बिताउँछु । खै के–के गरेर बित्छ रात पनि ! तर तिमीलाई आरोपित उसमा गरेरै बित्छ । साँच्चै जब हामी साथै रात कटाउथ्र्यौं मलाई उज्यालो चाहिन्थ्यो । तिम्रो मादक यौवनलाई आाखाहरूले पिई बस्थे, तर कामिनाप्रति ममा त्यस्तो सोच छैन । अँध्यारोमा पक्कै पनि निक्कै कुराहरू हुन्छन् नै, तर म तिमीलाई पाउँछु कामिनामा/अँध्यारोमा ।

(तिमीसित नभेटेको ६ महिनापछिको डायरीबाट)

Advertisement

तेस्रो पत्र

प्रिय !
सम्भवत: अब तिमी मसित आउनेछैनौं । म यो समयमा नितान्त एक्लो छु । किनभने कामिनासित पनि छुटेको अब धेरै दिन भयो । तिमीले छोडी गएको बेलाझैँ दु:खी छु । कोही भेट्नुअघिको एक्लोपन र छुट्टिएपछिको एक्लोपन धेरै विसंगत कुरा हुन् । अन्त्यमा यही आशा गर्छु कि तिमी अब पहिले जस्ती घमन्डी र जिद्दी छैनौ । पोखरीमा गिट्टी फाल्ने मान्छे!

(कामिनासित छुटेको एक महिनापछिको डायरीबाट)

नोट: हामीले तपाईँको साहित्यिक रचनाहरू प्रकाशन गरे वापत कुनै शुल्क लिदैनौँ र लेखकत्व अथवा पारिश्रमिक (royalty) दिन पनि असमर्थ छौँ।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


लघुकथा: भ्यागुताको धार्नी

लघुकथा: भ्यागुताको धार्नी

स्रष्टा: सुष्मा पाठक थापा

“हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।”
“मर्निङ वाक जाने गर न”
“यसो एक्सरसाइज गर्नु नि”
“डाइटिङ गर डाइटिङ”

चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। तैपनि आफन्त र साथीहरुले आफ्नै भलाईका लागि भनेका त हुन् भनेर चित्त बुझाउनै पर्यो। के गर्नु!

ज्यान घटाउने सबैभन्दा सजिलो र प्रभावकारी तरिकाको अध्ययन गर्दै जाँदा मर्निङ वाक अलि ठीक लाग्यो। भएन बा! अब मर्निङ वाक चाँही गर्नै पर्यो। आफ्नो ज्यान आफैलाई भारी भएको ब्यथा त आफुलाई भन्दा बढी कसलाई थाहा हुन्छ र। मर्निङ वाक जान थालेर दुब्लाएकाहरु देखेर आफ्नो जीउ पनि त्यस्तै बनाउने मिठो कल्पना आउनासाथ सम्झेँ,”ओहो! मसँग त स्पोर्ट शूज नै छैन पो त।” लौ जा। चप्पल लगाएर कसरी दौडनु, स्यान्डल लगाउन पनि भएन, अब मारेन त। यसो हिसाब गरेँ, महिना त मर्न लाग्यो, तलब आउनासाथ एकजोर स्पोर्ट शूज त किन्नै पर्यो। पैसाले पुगे त ट्र्याक सुट पनि किन्न पाए झन गजब हुनेथियो।

मानव हितमा समर्पित संस्था गुल्मी केयर विश्व सञ्जालको बारेमा जान्नको लागि तल क्लिक गर्नुहोस्:
Gulmi Care

दिन गन्दागन्दै तलब पाइयो। तिरोतारो, बच्चाको स्कुल फी, रासन आदि सबै छुट्याएर ट्याक्कै हजार जति बाँकी रहला, मनमनै हिसाब गरेँ। ठिकै छ, अहिलेलाई स्पोर्ट शूज नै किन्नपर्यो। अर्को महिना ट्र्याक किनौँला। अब फुर्सद हुनासाथ बजार गएर जुत्ता किनेर ल्याइहाल्छु, मर्निङ वाक पनि शुरु गरिहाल्छु। उत्साहित हुँदै घर आइपुगेँ।

“मम्मी, हेर्नुस् न मेरो ब्याग। कस्तो थोत्रो देखिन्छ। सबैको कस्तो नयाँ छ। फेरि यी यतातिर च्यातियो। तपाईंले तलब आउनासाथ किन्दिन्छु भन्नुभएको होइन?” मलाई देख्नासाथ छोरीले सुनाउन थाली। बिचरी, नयाँ कक्षामा थोत्रो च्यातिन लागेको ब्याग बोकेर जान्छे, उसले पनि मलाई नभनेर कसलाई भनोस्।

“ल ल हुन्छ छोरी, भोलि नै नयाँ ब्याग किन्न जाने।” यति भन्दै उसको खुशीले चम्किएको अनुहार हेरेँ। मर्निङ वाकको लागि फेरि अर्को महिनाको प्रतिक्षा गर्दै हातमुख धुन बाथरूमतिर लागेँ। हेरौँ भ्यागुताको धार्नी कहिले पुग्ने हो।


नोट: हामीले तपाईँको लेख प्रकाशन गरे वापत कुनै शुल्क लिदैनौँ। हाल हामी तपाईँको लेखकत्व अथवा पारिश्रमिक (royalty) पनि दिन असक्षम छौँ।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


प्रधान सम्पादक :

Salik Ram

सालिक राम 'जिउँदो सालिक'

बडागाउँ, गुल्मी, नेपाल।

लघुकथा: आमाको माया

लघुकथा: आमाको माया

एक जना व्यक्तिले आफ्नी आमालाई एउटा वृद्धाश्रममा लगेर छोडिदियो । हरेक महिना ऊ आमाका लागि केही खर्च पठाइदिन्थ्यो, समय बित्दै गयो । एकदिन वृद्धाश्रमबाट उसलाई चिठी आयो, जसमा लेखिएको थियो : तिम्री आमा साह्रै बिरामी हुनुहुन्छ, छिट्टै भेट्न आउनु । ऊ वृद्धाश्रम पुग्दा आमाको हालत निक्कै खराब देख्यो । उसलाई लाग्यो आमाको अन्तिम दिन आइसकेको छ ।
उसले आमासँग सोध्यो : आमा तपाईंको केही इच्छा छ, भन्नुस् म पूरा गर्छु ।
आमा : बाबु, यो वृद्धाश्रममा पंखा हालिदिनु।
छोरा : आमा तपाईंको अन्तिम समय आइसक्यो, अब तपाईंलाई पंखा के काम लाग्ला र ?
आमा : छोरा मैले गर्मीयाममा निक्कै गर्मी भोगेकी छु, त्यसैले सोच्दैछु, भोलि, पर्सि जब तिम्रा छोराछोरीले तिमीलाई वृद्धाश्रममा छोडेर जानेछन् तब तिमीलाई कष्ट नहोस्, तिमी त्यस्तो गर्मीमा कसरी बस्नेछौं भन्ने मेरो चिन्ता हो बाबु ।


नोट: स्रष्टाको अनुरोध बमोजिम स्रष्टाको नाम उल्लेख नगरिएको हो।
तस्विर साभार: गुगल


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


Free track counters
पटक यो ब्लग हेरियो।

लघुकथा: हाफ टाइम

लघुकथा: हाफ टाइम

स्रष्टा: सुरेश बादल

हाफ टाइमको घन्टी बज्नासाथ सदाझैँ मेरी बैनी दगुर्दै मेरो कक्षाको ढोकामा आएर उभिई । यो उसको नियमित रुटिन थियो । मैले देखें, बिहान मिलाइवरी लगाएका स्कुल पहिरन मैलो बनाइ सकिछ । कोरेको कपाल पनि जिङ्ग्रिङ्ग बनाइसकिछ । एक दिन समय लिएर उसका बिग्रिएका सबै कुरा मिलाइदिएँ । त्यसपछि चौरमा बसाउँदै खाजाको टिफिन खोलेँ । बैनीको अनुहार खाजा देख्नेबित्तिकै निन्याउरो भयो । खाजामा सुख्खा दालमोठ चिउरा थियो ।

आज फेरि मेरी बैनीले दालमोठ–चिउरा खान मानिन । मैले भने आफ्नो भागको खाजा खाएँ । बैनी ठसक्क परेर बसकी थिई । सायद मसँग रिसाई । म पनि त निर्दोष एवं विवश थिएँ ऊजस्तै । म एक कक्षा पढ्थें । बैनी भर्खर नर्सरीमा भर्ना भएकी थिई । मैले ल्याउने खाजा मैले बोके पनि त्यो आमा वा दिदीबाट मेरो हातमा परेको हुन्थ्यो । त्यो बेला म पनि घरको परिस्थिति बुझ्दिनथें । बैनी पुतलीजस्तै छे कसरी निल्न सकोस् उसको नरम घाँटीले त्यो सारो चिउरा । हाम्रो स्कुलको खाजा सधैं –सधैं त्यस्तै हुन्थ्यो । आमाले बाहिर काम गर्न जानुपर्छ । सायद भ्याउनुहुन्न खाजा बनाइवरी पठाउन ।

भोकाएकी बैनीको मायालु अनुहार देखेर यसो खल्ती छामेँ । दुई रुपैयाँको एउटा सिक्का भेटियो । उसलाई केहि ख्वाउनुपर्यो भनी पसलतिर दगुरेँ । दुई रुपैयाँ जाने एउटा बरफमात्र पाएँ । त्यही किनेर आउँने क्रममा बैनीलाई कक्षातिर गैरहेको देखेँ । घण्टी बजिसकेको रहेछ । तैपनि हतार गरेर उसको हातमा चिसो बरफ थमाएँ । सिन्कामा समाउँदै उसले मलाई त्यो बरफ एक टुक्रा टोक्न भनी । म त्यो चिसो बरफको टुप्पापट्टिको एक टुक्रा टोकेर आफ्नो कक्षातिर दौडिएँ । मुखको टुक्रा चपाउँदै थिएँ– लौ जा, मैले त बरफको टुप्पामा राखिएको दूध, नरिवल र छोकडाको डल्लो टोकेछु । बिचरी बैनीलाई त सग्लो पानी मात्र परेछ । भोकी बैनीले त्यो पनि खान पाइन । मलाई त्यो दिनभर नरमाइलो लागिरह्यो ।

साभार: साप्ताहिक


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


Please share this story.

 विज्ञापन  

लघुकथा: एउटा यस्तो दृश्य

लघुकथा: एउटा यस्तो दृश्य

कथाकार: इन्द्र कुमार श्रेष्ठ 'सरित'

यस्तो एउटा दृश्य

युवीनले रजितालाई मन पराएको छ वर्ष बितिसकेको थियो । मायाको बारी खोज्दै दुईले जिल्लाभरिको पोखरी, डाँडापाखा र घाँसदाउरा गर्ने ठाउँ कुल्चिन कतै बाँकी राखेका थिएनन् । तर युवीनको भरपर्दो रोजगारी नभएकोले उसले रजिताका आमाबाबुसँग रजिताको हात माग्न सकेको थिएन जब कि युवीनका बाबुआमालाई रजितालाई बुहारी बनाउन कुनै आपत्ति थिएन । एकतर्फी मञ्जुरीले मात्र काम नलाग्ने भएपछि युवीन लोकसेवामा भीडेको भीडै थियो संगसँगै उसले सरकारी गैरसरकारी संस्थाहरूको आफ्नो योग्यता मिल्दो कुनै पनि पदमा आवेदन दिन छुटाएको थिएन । तर युवीनको छेउछाउ सफलताले आउनै मानेकी थिइनन् । त्यसैले दुवैको मनसुवा सफल हुन सकिरहेको थिएन ।

तर अचानक एक दिन हेटौंडाको साबुन फ्याक्ट्रीबाट उसलाई अन्तरवार्ताका लागि टेलिफोनमार्फत बोलाइयो । युवीन र रजिताले सफलताको कामना गरे । तर युवीन गएको भोलिपल्टदेखि नै विभिन्न मागराख्दै राजनैतिक दलहरूले नारायणगढ— हेटौडा क्षेत्र अनिश्चितकालका लागि बन्दको घोषणा गरे ।

घरबाट हेटौंडा हिंडेको आठौं दिनमा मात्र युविन घर फर्कियो । ऊ घरमा झोला फालेर रजितालाई भेट्न हतारिएको थियो । तर घरको मुलढोकामै रजिता भेटिई । रजिताको पहिरन देखेर युविन अक्क न बक्क पर्यो । मुखबाट बोली फुटेन उसको ।
रजिताले नै हाँस्दै भनिन्— धेरै हैरान नहोऊ युवीन । अब म तिम्री प्रेमिका होइन हजुरआमा हुँ । तिम्रो नोकरीको प्रतीक्षामा मैले कहिलेसम्म पर्खिनुपर्ने हो के था ? त्यसैले धादिङ्घ मेन बजारको घडेरी, दुई बिघा खेत र दश लाख रुपैया मेरो नाममा नामसारी भएपछि म तिम्री हजुरआमा बनेकी हुँ ।
सम्पत्ति आफ्नो नाममा आउने यस्तो सजिलो उपाय हुँदाहुँदै व्यर्थै तिमीलाई पर्खेर मैले आफ्नो समय र यो सुन्दर जवानी किन खेर फाल्नु भनेर मैले गरेको निर्णय तिमीलाई कस्तो लाग्यो ? मलाई पोइ चाइएको होइन क्याः युविन । विचरा तिम्रो हजुरबाले गर्नै के सक्छन् र सम्पत्ति दिन बाहेक । अब अर्को हप्तातिर बुढासँग पारपाचुकेका लागि जिल्ला अदालतमा निवेदन दिन्छु । नेपालको कानून, आइमाईले अलि अलि राइदिएपछि र लोग्नेले हेला गर्छ, कुट्छ, पिट्छ भनिदिएपछि त लोग्नेमान्छेको त व्याण्ड नै बजिहाल्छ नि ।...अँ, हजुरबासँग पारपाचुके भएपछि नाति पो मेरो नजिक आउने हो कि कसो ?
वाक्य समाप्तिपछि रजिताले घरै उचाल्नेगरी हाँसेको हाँसो युवीनले सुनेन । किनभने ऊ त अघि नै बेहोस भएर लडिसकेको रहेछ ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
तरहरा, सुन्सरी
हालः एकताबस्ती, बुढानिलकण्ठ न.पा.


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


तपाईँका साहित्यिक रचनाहरू पठाउन यहाँ क्लिक गर्नुहोस।

तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

Find us on Facebook